पर्यटक पर्खिरहेको त्रिवेणी पाटन जसलाई ‘भ्रमण वर्ष’ ले चिनेन

पर्यटक पर्खिरहेको त्रिवेणी पाटन जसलाई ‘भ्रमण वर्ष’ ले चिनेन

कालिकोट : सान्नीत्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटन पर्यटकको पर्खाईमा छ। जिल्लाको चर्चित धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल त्रिवेणी पाटनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ। तर यहाँ पर्यटकको आगमन न्यून छ।

प्रचार प्रसारको अभाव तथा कर्णाली प्रदेश सरकार र संघीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमा नसमेटिँदा त्रिवेणी पाटन ओझेलमा परेको हो।

गत वर्ष संघीय सरकारले मुलुकका १०० पर्यटकीय गन्तव्य सार्वजनिक गर्दा पनि त्रिवेणी समेटिएन। गत साउन १८ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेका ४० पर्यटकीय गन्तव्यमा पनि त्रिवेणी पाटन परेन। कालिकोटका पिली, चुलीमालिका, मान्म बजार र कोटदरबार प्रदेश सरकारको पर्यटकीय गन्तव्यमा समावेश भएपनि ४ हजार मिटरको उचाइमा रहेको त्रिवेणी पाटन नसमेटिँदा यहाँका स्थानीयबासी खुसी छैनन्।

के छ त्रिवेणी पाटनमा ?

त्रिवेणी पाटनलाई यहाँ त्रिवेणी धाम नै मानिन्छ। हजारौँ भक्तजन वर्षेनी त्रिवेणी पाटन हुँदै बडिमालीका दर्शनमा जान्छन्। कालिकोट र बाजुराको सीमा क्षेत्रमा रहेको बडिमालिका मन्दिर दर्शन गर्न भक्तजनहरू एक दिन एक रात त्रिवेण धाममा बास बसेर जाने गरेका छन्।

पाटनबाट तीनवटा मुहान फुटेर तीनवटा खोला बनेपछि तीन खोलाको संगम हुँदा यसको नाम त्रिवेणी रहन गएको स्थानीयहरू बताउँछन्। यहाँ स्नान गरेपछि बढीमालिकाको दर्शन गर्न जाने चलन छ।

त्रिवेणी पाटन झलक्क हेर्दा बगैँचाजस्तो देखिन्छ। यहाँ विभिन्न प्रजातिका वनस्पति चराचुरुङ्गी छन्। तर सिजनअनुसार मात्र पर्यटक पुग्ने हुनाले यहाँ बास र खानपिनको समस्या छ।

त्रिवेणीलाई संरक्षित क्षेत्र बनाएर पर्यटक भित्र्याउने योजनामा आफूहरू रहेको सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाही बताउँछन्। ‘यो देशकै ठूलो सम्पत्ती हो’, उनले भने, ‘कस्तुरी, बाघ, घोरल जस्ता बन्यजन्तु र दुर्लभ पंक्षीहरू यहाँ पाइन्छ।’

त्रिवेणी जाने चलनचल्तीको बाटो कालिकोट सदरमुकाम मान्म हुँदै सान्नीको मेहलमुडी र मुम्रा भएर जान्छ। जहाज वा बसबाट बाजुरा लगाएतका अन्य जिल्ला भएर पनि जान सकिन्छ। मान्मबाट बिहानै पैदल हिँड्दा एक दिनमा मुम्राको मालिक वन पुगिन्छ। दोस्रो दिनमा त्रिवेणी पुगिन्छ। मालीवनदेखि बिहानीको शीतलमा ठाडो उकालो हुँदै मध्य दिउँसो त्रिवेणी पुगिन्छ।

बडिमालिकामा जनैपूर्णिमाका बेला मेला लाग्ने भएकाले त्रिवेणी भएर भक्तालु जाने गर्दछन। जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखि पनि भक्तहरू त्रिवेणी आउने गरेको पुजारी कृष्णप्रसाद धमालाले बताए। त्रिवेणीमा नुहाएर बडिमालिका दर्शन गरे मनले चिताएको पूरा हुने विश्वास रहेको धमालाले सुनाए।

त्रिवेणीमा दुई खोला छन्- गंगा र जमुना। यहाँ स्नान गर्दा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास पनि छ। त्रिवेणीमा अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने विश्वास रहेको पूजारी धमलाले बताए।

सामुदायिक होमस्टे

सान्नीत्रिवेणी गाँउपालिकाको मेहेलमुडी, उजेलगाँउ, क्यूरी र मुम्रामा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ। गाउँपालिकाको समन्वयमा त्रिवेणी पाटनलाई लक्षित गरी सान्नीत्रिवेणी गाउँपालिकाका चार गाउँमा सामुदायीक होमस्टे सञ्चालन थालिएको स्थानीय पर्यटन व्यवसायी मनराज सिम्खाडाले बताए।

त्रिवेणी जाने बाटोमा रहेका चार वटा गाँउका तीन∕तीन वटा घरलाई सामुदायिक होमस्टेका रुपमा संचालन गरी पर्यटकलाई खानपिन र बसोबासको व्यवस्था मिलाइएको सिम्खाडाले बताए। ‘मेहेलमुडी, उजेलगाउँ, क्यूरी र मुम्राका १२ घरधुरीहरुले गाउँपालिकामा त्रिवेणी सामुदायिक होमस्टे दर्ता गरेका छौँ। अबको दुई महिनाभित्र सबै होमस्टे पूर्ण रुपमा सञ्चालन हुन्छन्।

शान्नित्रिवेणी गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाही त्रिवेणी घुम्न आउने पर्यटकहरुका लागि गाँउमा होमस्टे र लेकाली क्षेत्रहरुमा टि हाउसहरू संचालन गरिने बताउँछन्। ‘त्रिवेणीको प्रचार प्रसारका लागि सान्नीदेखि त्रिवेणीसम्मको पद यात्रा पनि गरेका छौँ’, उनले भने, ‘त्रिवेणी आउने पर्यटकले अब खानबस्न समस्या भोग्नु पर्दैन।’ annapurnapost.com बात साभार

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *