स्मार्टफोन किन स्लो ?

स्मार्टफोन किन स्लो ?

मानिसका लागि मोबाइल फोन आधारभूत आवश्यकता भइसकेको छ। स्मार्टफोनले मानिसको दैनिकी सहज बनाएको छ। स्मार्टफोनमा औंला घोटेको भरमा मानिसले विश्व बजारमा उपलब्ध सामान खरिद गर्नुलगायत धेरै सुविधा प्राप्त प्राप्त गरिरहेका छन्। मानिसको दैनिकी सहज बनाउन स्मार्टफोनमा राख्न मिल्ने लाखौं एपको आविश्कार भएको छ।

फोन अहिले कुराकानीका लागि मात्र प्रयोग गरिँदैन। स्मार्टफोनले जीवनस्तर नै स्मार्ट बनाएको छ। यसैले अहिले अधिकांश मानिसको हातमा स्मार्टफोन हुनेगरेको छ। आईफोनमा आईओएस र अधिकांश अरु ब्रान्डमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन्।

स्मार्टफोनले मानिसको जीवन सहज बनाए पनि यसलाई सही तरिकाले प्रयोग गर्न जानिएन भने हैरानी खेप्नुपर्छ। स्मार्टफोनलाई उपयुक्त तरिकाले चलाउन नसक्दा ह्याङ (समस्या) हुन्छ। ह्याङ हुनबाट जोगाउन मोबाइल चलाउँदा सतर्क रहनुपर्छ।

एप खुलै रहनु

धेरै स्मार्टफोन प्रयोगकर्ताको कुनै एप खोलेर ब्याक गर्ने बानी हुन्छ। यस्तो गर्दा एप बन्द नभइ मिनिमाइज हुन्छ। यस्तो अवस्थामा त्यो एप्स मोबाइलको ब्याकग्राउन्डमा चलिरहेको हुन्छ। यसरी ब्याकग्राउन्डमा एप्स चलिरहँदा यसले मोबाइलको ‍र्‍याम लिइरहेको हुन्छ।

मोबाइल इन्टरनेटसँग जोडिँदा ती एप्स अटोमेटिक अपडेट हुन्छन्। अपडेटका लागि केही समय चाहिने भएकाले मोबाइल ह्याङ हुने समस्या आउँछ। कुनै एपको प्रयोगलगत्तै मोबाइलको नेभिगेसन किबाट उक्त एप्सलाई बन्द गर्नुपर्छ।

जंक फाइल बढी हुनु

इन्टरनेट धेरै चलाउने प्रयोगकर्ताको मोबाइल सुस्त हुने समस्या देखिन्छ। इन्टरनेटका कुनै पनि पेज हेरेपछि फेरि हेर्न सजिलो होस् भनेर ती पेजका क्याचेज र टेम्पोररी फाइल सेटभित्रै बस्छन्। यसरी लगातार चलाइरहँदा त्यसले बढी मेमोरी खान्छ र मोबाइललाई स्लो बनाउँछ।

नयाँ स्मार्टफोनमा क्याचेज वा टेम्पोररी फाइल हटाउने एप हुन्छ। साथै प्रयोगकर्ताले सेटिङमा गएर वा ब्राउजरबाटै ती हटाउन सक्छन्।

प्लेस्टोर र एपस्टोरको प्रयोग गर्ने

एप्पल प्रयोगकर्ताले एप स्टोर र इन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट मात्रै एप डाउनलोड गर्नुपर्छ। एन्ड्रोइड वा आईओसले आधिकारिक ठानेका एपमात्र डाउनलोड गर्नुपर्छ। कतिपय प्रयोगकर्ताले तेस्रो पक्षको एप डाउनलोड गरेर प्रयोग गर्ने गरेका छन्। यस्ता एप सुरक्षाका दृष्टिले चुनौतिपूर्ण हुन्छन्।

स्टोरेज कम हुनु

स्मार्टफोनमा दुई किसिमको स्टोरेज हुन्छ। एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने एक्सटर्नल। यदि हामीले एक्सटर्नल स्टोरेज (मेमोरी कार्ड) राख्दैनौ भने फोटो, भिडियो, एप सबै इन्टरनलमा जम्मा हुन्छ। स्टोरेज भरिएमा पनि मोबाइल ह्याङ हुन्छ। मोबाइलको स्टोरेज क्षमताअनुसार फोटो, भिडियो र एप्स राख्नुपर्छ।

आफैं एप इन्स्टल हुनु

एप डाउनलोड गर्दा कहिलेकाहीँ अनावश्यक एप्स पनि इन्स्टल हुन्छन्। यसरी डाउनलोड भएका एप्स देखिँदैनन्। तर मोबाइललाई स्लो बनाउन यस्ता एपको पनि भूमिका हुन्छ। कुनै वेबसाइट खोल्नुपूर्व तथा एप डाउनलोड गर्नुअघि त्यहाँ लेखिएका सर्त अध्ययन गर्नुपर्छ।

फोनलाई अनअफ गर्ने

हामीले हत्तपत्त मोबाइललाई अफ हुन दिँदैनौ। लामो समयसम्म लगातार प्रयोग गर्दा मोबाइल स्लो हुने समस्या आउँछ। कमसेकम हप्ताको एकपटक मोबाइल फोन अफ गरे चलाउनुपर्छ।

अनावश्यक एप नराख्ने

मोबाइल स्लो बनाउने मुख्य कारक तत्व एपलाई मान्न सकिन्छ। आवश्यकभन्दा धेरै एप मोबाइलमा डाउनलोड गर्नुहुँदैन। एपले मोबाइलरको स्टोरेज र र्‍याम ओगट्ने गर्छ। स्टोरेज कम भए मोबाइल स्लो हुन्छ। एउटै प्रकृतिका एप सकभर डाउनलोड नगर्नुहोला।

आधिकारिक चार्जर प्रयोग गर्ने

गलत चार्जरको प्रयोगले पनि मोबाइल स्लो बनाउँछ। मोबाइल आधिकारिक चार्जरबाट चार्ज गर्नुपर्छ। बजारमा उपलब्ध सस्ता चार्जरको प्रयोग गर्दा ब्याट्रीको क्षमता घट्छ। यसको असरस्वरूप मोबाइल स्लो हुनसक्छ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *